धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा मिति २०७८ मंसिर २३ गते बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ।
विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो।
सीताराम विवाह पञ्चमी महोत्सव सकिएलगत्तै मन्दिर परिसरमा आयोजित सामूहिक विवाह समारोहमा विभिन्न जातजातिका जोडीको विवाह गराइएको विश्व हिन्दू परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए।
विश्व जगत्मा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रूपमा रहेको प्रचार–प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहले बताए।
विवाह समारोहमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवलगायतले नवविवाहिता जोडीलाई सुखद् दाम्पत्य जीवनको शुभकामना दिए।कार्यक्रममा भारतबाट विश्व हिन्दू परिषदका केन्द्रिय मन्त्री श्री राजेन्द्र सिंह पंकज ज्यूको विशेष उपस्थिति रहेको थियो ।
विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ।
विवाहको नाममा लिने दाईजो (दहेज) प्रथालाई चुनौति दिँदै ती जोडीहरुलाई आदर्श विवाह गरिएको हो । प्रत्येक जोडीको लागि छुटाछुट्टै मण्डप अर्थात मडबा बेदी बनाइएको जनाइएको छ । सामुहिक विवाहको लागि जनकपुरका सहयोगी हातहरुले सहयोग गरेको हो । विश्व हिन्दु परिषद् नेपालका धनुषा जिल्ला अध्यक्षका अनुसार, जन्तीको खानपान, बेहुलाबेहुलीको लुगाफाटो, सरसमान, बेहुलीलाई सुनको मंगलसुत्र सबै सहयोगी हातहरु खोजेर जुटाइएको हो । बाजागाजा सहित रथमा सबार भई दुलहा एवं जन्तीले नगर परिक्रमा समेत गरेका थिए ।
विश्व हिन्दु परिषद् नेपालले गरेको सामुहिक विवाहको आह्वानमा तराई मधेशको विभिन्न जिल्लाका बेहुला बेहुली पक्षले विवाहको लागि फारम भरेका थिए । कानुन अनुसार बेहुला बेहुलीको विवाह गर्ने उमेर पुगेको हुनु पर्ने शर्त राखिएकोले २० वर्ष माथिका बेहुलाबेहुलीहरुको अभिभावकले फाराम भरेको थियो । आवेदन फाराममा वर र बधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको थियो ।