काठमाण्डौ: विश्व हिन्दू परिषद नेपालले आफ्नो स्थापना दिवस देशभर विविध कार्यक्रम गरी उत्साहपूर्वक मनाएको छ। परिषदको १३औं स्थापना दिवसको अवसरमा आइतबार देशभर वृहत् शोभायात्रा, मोटरसाइकल र्याली, दीप—प्रज्वलन, भजन—सत्संग, सांस्कृतिक प्रस्तुतिहरू तथा अन्य विशेष कार्यक्रमहरूको आयोजना गरिएको थियो।
विश्व हिन्दू परिषद नेपालको स्थापना विक्रम सम्वत २०६८ सालमा श्रीराम नवमीको पावन दिनमा भएको थियो। परिषदले उक्त दिनलाई आफ्नो स्थापना दिवसको रूपमा मान्दै हरेक वर्ष श्रीराम नवमीको अवसर पारेर विशेष कार्यक्रमहरू गर्दै आएको छ।
यस वर्ष पनि परिषदले काठमाण्डौ, विराटनगर, उदयपुर, वीरगञ्ज, जनकपुर, जलेश्वर, सिरहा, सप्तरी, सर्लाही, राैतहट, बारा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, नेपालगञ्ज, धनगढी, कञ्चनपुर लगायत देशका विभिन्न स्थानहरूमा भव्य शोभायात्रा, दीप—प्रज्वलन, भजन—सत्संग तथा अन्य सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी स्थापना दिवस र श्रीराम जन्मोत्सव मनाएको हो।
कार्यक्रमहरूमा स्थानीय जनताको उत्साहजनक सहभागिता देखिएको थियो। साथै, यस उत्सवले नेपाली समाजमा धार्मिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको छ।